भीषण भोटेकोशी बाढी धादिङमा प्रवेश, प्रशासनले उच्च सतर्कता अपनाउन स्थानीयलाई आग्रह
धादिङ, २४ असार – भोटेकोशी नदीमा मंगलबार बिहान आएको भीषण बाढीले धादिङ क्षेत्रमा प्रवेश गरेको छ। जिल्ला प्रशासन कार्यालयले जनधनको क्षति नहोस् भनी उच्च सतर्कता अपनाउन स्थानीयलाई अनुरोध गरेको छ। त्रिशुली नदीको बाढी हेर्न गजुरी, मलेखु, चरौँदी लगायतका स्थानका स्थानीय सुरक्षित ठाउँबाट बाढीको प्रतीक्षा गरिरहेका छन्।
बाढीले रसुवागढी नाकामा रहेको नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको साथै सुख्खा बन्दरगाहमा रहेका नयाँ विद्युतीय गाडी (ईभी)हरू पनि बगाएको छ। रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले ठूलो क्षति पुर्याएको पुष्टि गरेका छन्। प्रजिअ पौडेलका अनुसार चीनतर्फबाट आएको बाढीले रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालय यार्डमा फसेका ९ जनालाई सुरक्षाकर्मीको टोलीले सकुशल उद्धार गरेको छ।
यसैगरी, नुवाकोटको त्रिशुली खोलामा आएको बाढीले दाउरा खोज्न गएका किस्पाङ गाउँपालिका–४ का मंगली तामाङ र पाल्तेन तामाङलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ। धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बाढीबाट जिल्लामा कुनै क्षति नहोस् भनी उच्च सतर्कता अपनाइएको जानकारी दिएका छन्।

