भोटेकोसी बाढीमा १८ जना सम्पर्कविहीन, रसुवा प्रहरीको उद्धार प्रयास जारी
रसुवा, २४ असार — जिल्लामा आएको भोटेकोसी नदीको बाढीले १८ जना सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय रसुवाले मंगलबार जनाएको छ। प्रहरीका अनुसार सम्पर्कविहीनहरूमा ३ जना प्रहरी, १२ नेपाली नागरिक र ६ चिनियाँ नागरिक रहेका छन्। यद्यपि सबैको पहिचान अहिलेसम्म खुल्न सकेको छैन।
रसुवा प्रहरीका अनुसार चीन क्षेत्रको भीषण वर्षाका कारण मंगलबार बिहान ३ बजेतिर रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ रसुवागढीमा बाढी आएको हो। बाढीले नेपाल र चीन जोड्ने मितेरी पुल बगाएपछि बिहान ४ बजेदेखि आवतजावत पूर्णरूपमा बन्द गरिएको छ।
यसैगरी बाढीले गोसाइँकुण्ड–२ मा रहेको ईभी चार्जिङ स्टेसनमा रहेका ७–८ वटा गाडी बगाएको छ भने भन्सार कार्यालय रसुवाको यार्ड र रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको छ। प्रहरी उद्धार र खोजी कार्यमा सक्रिय रहेको बताइएको छ।

