लिफ्ट दिएका व्यक्तिले अन्तै लान खोजेपछि हाम्फालेकी किशोरी गम्भीर घाइते

बैतडी, ८ भदौ – बैतडीमा मोटरसाइकलबाट खसेर एक किशोरी घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका ९ किचारकी १६ बर्षीय गोदावरी भट्ट गम्भीर घाइते भएकी हुन् ।

सोमबार बिहान गौरा पर्वका लागि लुगाकपडा र श्रृंगारका सामान किन्न खोड्पे बजार पुगेकी गोदावरीलाई घर फर्किदा मोटरसाइकलमा लिफ्ट दिएका हरिश महराले अन्तै लग्न खोजेपछि उनले मोटरसाइकलबाट हाम फालेको उनका दाजु जनकराज भट्टले बताए ।

आफ्ना बुवा अर्जुन भट्ट र गाउँका अन्य किशोरीसँग खोड्पे पुगेकी गोदावरी बुवाभन्दा केही ढिलो घर फर्किँदा हरिशले आफैं लिफ्ट दिन्छु भनेर मोटरसाइकल चढाएको जनकले बताए । उनले भने, ‘बहिनीले बिचमा बुवा देखेपछि म यतै उत्रिन्छु भनेको रहेछ । तर उसले विजयपुर सम्म पुर्‍याइ दिन्छु भनेछ । विजयपुरबाट पनि बझाङतर्फ जाने रोडमा लग्न थालेपछि बहिनीले हाम फालेछ ।’

गोदावरीले मोटरसाइकलबाट हाम फालेपछि हरिश एक्लै भागेका बताइएको छ । हरिशको घर पनि पाटन नगरपालिका ९ कत्र्याकोटमा रहेको छ । गाउँकै चिनेजानेको मान्छेले मोटरसाइकलबाट अन्तै लग्ने प्रयास पछि गोदावरीले हामफालेको पारिवारका सदस्यले जनाएको छन् ।

घाइते गोदावरीको अहिले धनगढीको माया मेट्रो हस्पिटलमा उपचार भइरहेको छ । उनको आईसीयूमा राखेर उपचार भइरहेको दाजु जनकले बताए । उनले भने, ‘बाहिरी देखिने चोट कम भए पनि बहिनीको भित्री अंगमा चोट छ । बेहोस अवस्थामा छ ।’

पीडित परिवारले घटनाको छानविनका लागि खोड्पे प्रहरी चौकीमा निवेदन दिएका छन् । आफ्नो बहिनीले न्याय पाउनुपर्ने दाजु जनकको माग छ ।

प्रहरीले चालक हरिश र मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । अहिलेसम्म मोटरसाइकलबाट हाम फालेर एकजना किशोरी घाइते भएको भन्ने जानकारी मात्रै आएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको ओझाको भनाई छ ।

Facebook Comments Box