निर्वाचन ५४ दिन बाँकीः माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
काठमाडौँ, २६ पुस – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनका लागि आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याउन लागेको हो ।
आयोगले निर्वाचनको हालसम्मको तयारी र प्रगतिबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ । आयोगका अनुसार निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले गर्न पाउने र नपाउने गतिविधि, राजनीतिक दल तथा सरोकारवालाको भूमिका र दायित्वबारे आचारसंहितामा स्पष्ट व्यवस्था गरिएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगका तर्फबाट कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार प्रधानमन्त्रीलाई निर्वाचन तयारीसम्बन्धी विवरण अवगत गराउनुभएको हो । सो अवसरमा निर्वाचन सामग्रीको छपाइ, जनशक्ति व्यवस्थापन, सुरक्षा व्यवस्था तथा अन्य प्राविधिक तयारीका विषयमा जानकारी गराइएको थियो ।
आयोगले आचारसंहिता कडाइका साथ पालना गराउन सरकार तथा सम्बन्धित सबै सरोकारवाला निकायको सक्रिय भूमिका आवश्यक रहने जनाएको छ । आचारसंहिताको प्रभावकारी कार्यान्वयनबाट निर्वाचन प्रक्रिया मर्यादित र विश्वसनीय बन्ने आयोगको विश्वास छ ।

