दुईवटा बस बेपत्ता भएको झण्डै दुई साता : खोजीमा भारतीय टोलीलाई पनि मिलेन सफलता

काठमाडौँ, १० असार – त्रिशूली नदीमा बेपत्ता दुईवटा बस बेपत्ता भएको झण्डै दुई साता बित्न लाग्यो। गत असार २८ गते शुक्रबार बिहान काठमाडौंबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३-००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३-००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बगेका थिए।

दुर्घटना भएको सोही दिनबाट नेपाल प्रहरी सशस्त्र प्रहरी बल, नेपाली सेना लगाएतको टोलीले खोजीकार्य गर्दै आएको छ। चितवन प्रहरीका अनुसार हालसम्म २५ जनाको शव फेला परेको छ।

दुईवटा बसमा सवार ३५ भन्दा धेरै यात्रुको अवस्था अझै अज्ञात छ। हराएका बस भेटिएका छैनन्। बसको अवशेष हालसम्म पनि फेला नपरेको प्रहरी बताउँछ।

बेपत्ताहरूको खोजी मुस्किल भएपछि गत शनिबार प्राविधि सहित भारतीय उद्धार टोली चितवन आइपुगेका थिए। १२ जनाको भारतीय उद्धार टोली आउँदा बस र यात्रु भेटिने आशा आम मानिसमा थियो। तर भेलबाढीले उर्लिएको त्रिशूली र नारायणी नदीमा उद्धार टोलीको केही लागेन।

नेपाली २ सय जना र १२ भारतीय टोलीले खोजीकार्य जारी राखेका छन्। भारतीय टोलीले खोजी गर्न थालेको पाँचौं दिनसम्म एकजनाको पनि शव भेटाएको छैन। न त बसको कुनै अवशेष फेला परेको छ।

केही दिन यता एकजनाको पनि शव नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनमा प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीले जानकारी दिए। उनका अनुसार खोजीकार्यलाई हाल पनि उत्तिकै तीव्रता दिइएको छ।

७ दिनको लागि आएको भारतीय उद्धार टोली शनिबारसम्म खोजीकार्यमा संलग्न रहेर आइतबार भारत फर्कने जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए। उनका अनुसार भारतीय उद्धार टोलीका सदस्यहरूले धमिलो पानीका कारण आफूहरुले प्रयोग गरेको प्रविधिले समेत काम नगरेको बताएका छन्।

भण्डारीका अनुसार हालसम्म फेला परेका २५ शवमध्ये १७ शवको सनाखत भएको छ। जसमा ऋषिपाल साह, विकास परियार, रमितकुमार माझी, जयप्रकाश ठाकुर, सजाद अन्सारी, सुदीप विक, परमानन्द पण्डित, किशोरकुमार चौधरी, अशोककुमार यादव, ऋषिकुमार सिंह, विवेक कुमार, जितेन्द्र राम महरा, चन्द्रप्रभा कुमारी, अमृता कुमारी, तुल्सी दास, सनबाज अलाम, माइला भनिने राजेन्द्र लामिछाने रहेका छन्।

८ वटा शवको भने अझै सनाखत हुन सकेको छैन। जसमा ६ पुरुष र दुई महिलाको भने सनाखत हुन नसकेको प्रहरीले बताएको छ।‘हामीले यात्रुको परिवारलाई जोडेर ह्वाट्स अप ग्रुप बनाएका छौं।

शवको फोटो खिचेर आफन्तहरुलाई पठाएका छौं तर कसैले पनि आफ्नो मान्छेको शव हो भन्नुभएको छैन,’ प्रहरी उपरीक्षक भण्डारीलले भने, ‘शव हेरेर चिन्न सकिने अवस्था छैन। सुरुमा भेटिएका शव परिवारलाई जिम्मा लगाउन सजिलो भयो। उहाँहरुले आफ्नो मान्छे पहिचान गर्न सक्नुभयो।’

Facebook Comments Box