लोप हुँदै ‘फेरी’ लगाउने परम्परा, संरक्षणमा जुट्दै भोजपुरका अर्जुन जोगी

भोजपुर – भोजपुरमा पुस्तौँदेखि चल्दै आएको परम्परागत ‘फेरी’ लगाउने चलन लोप हुने अवस्थामा पुगेको छ। आधुनिक जीवनशैली र बदलिँदो सामाजिक परिवेशका कारण यो पेसाप्रति नयाँ पुस्ताको आकर्षण घट्दै गएपछि भोजपुरका अर्जुन जोगी भने यसको संरक्षणमा जुट्नुभएको छ।

भोजपुरको अरुण गाउँपालिका–१ याङपाङ निवासी अर्जुन जोगीले विगत दुई दशकदेखि पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आउनुभएको छ। उहाँले विशेषगरी कात्तिक, चैत र साउन महिनामा रातको समयमा गाउँघर डुलेर फेरी लगाउने गर्नुभएको छ। एक महिनामा करिब २० देखि २५ दिनसम्म उहाँ यसै काममा खटिनुहुन्छ।

परम्परागत धार्मिक मान्यताअनुसार फेरी लगाउँदा घरपरिवारमा सुख, शान्ति, समृद्धि र कल्याण हुने विश्वास गरिन्छ। रातको समयमा घरघरमा पुगेर मन्त्रसहित परम्परागत विधिबाट फेरी लगाउने प्रचलन रहिआएको छ। फेरी लगाउन आउने जोगीलाई स्थानीयवासीले आफ्नो गच्छेअनुसार चामल, धान, मकै, कोदो तथा नगद दिने गर्छन्। यसबाट फेरी लगाउनेहरूको जीविकोपार्जनमा समेत सहयोग पुग्दै आएको छ।

जोगीका अनुसार कुनै समय याङपाङमा १८ देखि २० घरपरिवारले फेरी लगाउने पेसा अपनाएका थिए। तर अहिले यो परम्परा धान्नेको सङ्ख्या घटेर दुई जनामा सीमित भएको छ। पुर्खौँदेखि चलिआएको मौलिक धार्मिक तथा सांस्कृतिक परम्परा नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले आफूले यो पेसालाई निरन्तरता दिइरहेको अर्जुन जोगी बताउनुहुन्छ।

नयाँ पुस्ता परम्परागत पेसाबाट टाढिँदै जाँदा फेरी लगाउने चलनसमेत सङ्कटमा परेको उहाँको भनाइ छ। मौलिक संस्कृति र परम्पराको संरक्षणका लागि नयाँ पुस्तालाई यसको महत्व बुझाउन आवश्यक रहेको उहाँले बताउनुभएको छ।

Facebook Comments Box