बेनी बजार संरक्षणका लागि क्षतिग्रस्त तटबन्ध पुनर्निर्माण गरिने
म्याग्दी – म्याग्दीमा कालीगण्डकी नदीको बाढीले क्षति पुर्याएको बेनी बजार संरक्षणका लागि निर्माण गरिएको पक्की तटबन्ध पुनर्निर्माण गरिने भएको छ। क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि करिब पाँच करोड रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। आगामी वर्षायामअघि नै नदी नियन्त्रण तथा बजार संरक्षणको काम सम्पन्न गर्ने लक्ष्यसहित एक महिनाभित्र ठेक्का आह्वान गर्ने तयारी गरिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालयले जनाएको छ।
बाढीले बेनी नगरपालिका–८ गणेश टोल पछाडिको करिब ८० मिटर र वडा नम्बर ७ स्थित म्याग्दी जेसीज कार्यालय अगाडिको करिब १५ मिटर लामो पक्की पर्खाल कटान गरी क्षति पुर्याएको थियो। नदी कटानका कारण पर्खालसँगै रिङरोडसमेत प्रभावित भएको छ।
आयोजनाका इन्जिनियर नरजङ्ग गुरुङका अनुसार क्षतिग्रस्त पर्खाल पुनर्निर्माणका लागि लागत अनुमान तयार गरी बजेट व्यवस्थापनसहित एक महिनाभित्र ठेक्का प्रक्रिया अघि बढाइनेछ। पुनर्निर्माणका क्रममा कम्पोजिट प्रविधिको पर्खाल निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सदरमुकाम बेनी बजारको सुरक्षाका लागि क्षतिग्रस्त पर्खाल पुनर्निर्माणमा ढिलाइ गर्न नहुने बताउनुभएको छ। यस्तै, आयोजना प्रमुख प्रेमहरि पराजुलीले थपिएको क्षतिको विवरण अद्यावधिक गरी आवश्यक बजेट व्यवस्थापनका लागि जलस्रोत तथा सिँचाइ विभागमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो।
कालीगण्डकी नदीको कटानबाट बेनी बजारसहित आसपासका बस्तीलाई जोगाउन आगामी बर्खाअघि नै नदी नियन्त्रणका योजना सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ। यसअघि पनि सोही क्षेत्रमा कम्पोजिट प्रविधिबाट पक्की पर्खाल र रिङरोड निर्माण गरिएको थियो। बाढीले ती संरचनामा क्षति पुर्याएपछि पुनर्निर्माण गर्न लागिएको हो।

