झापामा २२८ मेट्रिक टन डिएपी मल मौज्दात

झापा, ८ असोज – साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड झापा कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चरणमा २,११३ मेट्रिक टन रासायनिक मल वितरण गरेको जनाएको छ। तीमध्ये १,३५५ मेट्रिक टन युरिया र ७५८ मेट्रिक टन डिएपी मल रहेका छन्।

कार्यालयका प्रमुख विष्णुप्रसाद न्यौपानेका अनुसार मल स्थानीय सहकारी र कृषि संस्थामार्फत किसानलाई बिक्री गरिएको छ। साउनदेखि हालसम्म धानखेतीका लागि १,३०५ मेट्रिक टन युरिया र ७५८ मेट्रिक टन डिएपी वितरण गरिएको छ भने चियाखेतीका लागि ५० मेट्रिक टन युरिया उपलब्ध गराइएको छ।

धान खेतीका लागि पालिकाले सिफारिस गरेका १४० सहकारी तथा कृषि संस्थामार्फत वितरण भइरहेको छ। पहिलो चरणमा प्राप्त डिएपी मलमध्ये २२८ मेट्रिक टन अझै मौज्दात छ।

यसका अतिरिक्त, चियाखेतीका लागि उपलब्ध ६०० मेट्रिक टन युरिया र ४०० मेट्रिक टन डिएपी मल पनि हाल कार्यालयमा मौज्दात रहेको कर्पोरेसनले जनाएको छ।

यी मल चिया तथा कफी विकास बोर्डमा दर्ता भएका चिया उत्पादक कम्पनी तथा संस्थालाई मात्र उपलब्ध गराइने प्रावधान रहेको कार्यालयको भनाइ छ।

Facebook Comments Box