८० वर्षको उमेरमा पनि सुपारीखेतीमा उत्तिकै जाँगर, डेढ बिघामा फैलियो गोविन्दबहादुरको बगान
सुनसरी । उमेरले ८० वर्ष पुग्नुभएका इनरुवा नगरपालिका–४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीलाई अझै खेतीपातीमा उत्तिकै जाँगर छ। उहाँ बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानको रेखदेखमा व्यस्त हुनुहुन्छ। करिब डेढ बिघा क्षेत्रफलमा फैलिएको उहाँको सुपारी बगानमा अहिले झन्डै एक हजार दुई सय बोट छन्। व्यवस्थित रूपमा लहरै रोपिएका सुपारीका बोट र सफा बगानले त्यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ।
पुख्र्यौली रूपमा खेतीकिसानी गर्दै आउनुभएका कार्कीले करिब १५ वर्षअघि रहरले सुपारीखेती सुरु गर्नुभएको थियो। झापाको बिर्तामोडमा आफन्त तथा अन्य किसानले गरेको सुपारीखेती देखेपछि उहाँलाई पनि यसतर्फ आकर्षण बढेको हो। सुरुमा एक सय वटा बिरुवा रोप्नुभएका उहाँले चार–पाँच वर्षपछि फल लाग्न थालेपछि त्यसैबाट नयाँ बिरुवा उत्पादन गर्दै खेती विस्तार गर्नुभयो।
अहिले सुरुमा रोपिएका बोटबाट वार्षिक एक लाख रुपैयाँभन्दा बढी मूल्यको सुपारी बिक्री गर्दै आउनुभएको छ। बाँकी बोटले पनि अबको एक–दुई वर्षभित्र फल दिन थाल्ने उहाँको अपेक्षा छ। कार्कीका अनुसार सुपारी बिक्रीका लागि बजारको समस्या छैन। हरेक वर्ष व्यापारीहरू बगानमै आएर ठेक्कामा लिने र सुपारी पाकेपछि आफैँ टिपेर लैजाने गरेका छन्।
प्रायः दमकबाट व्यापारीहरू सुपारी खरिद गर्न आउने गरेको उहाँ बताउनुहुन्छ। साना व्यापारीलाई भने प्रतिकिलो ७० रुपैयाँका दरले सुपारी बिक्री गर्ने गर्नुभएको छ। सुपारीखेती सुरु गर्दा बिरुवा रोप्ने समयमा केही मेहनत गर्नुपर्ने भए पनि त्यसपछि धेरै स्याहार आवश्यक नपर्ने उहाँको अनुभव छ। वर्षमा एकपटक मल लगाउने र बोटको फेदमा चुन राख्दा कमिला तथा किराको प्रकोपबाट जोगाउन सकिने उहाँ बताउनुहुन्छ। मल, चुनलगायतमा वार्षिक करिब २० हजार रुपैयाँ खर्च हुने गरेको छ।
धान र मकैखेतीको तुलनामा सुपारीबाट राम्रो आम्दानी हुने उहाँको अनुभव छ। एक बिघामा धानखेती गर्दा धेरै मेहनत गर्नुपर्ने भए पनि अपेक्षित आम्दानी नहुने तर सुपारीखेतीबाट तुलनात्मक रूपमा राम्रो प्रतिफल प्राप्त हुने उहाँ बताउनुहुन्छ। बगानको रेखदेखका लागि एक जना कामदार राख्नुभएका कार्कीलाई श्रीमती डम्बरकुमारी कार्कीले पनि सघाउँदै आउनुभएको छ। खेतीमा भैँसीको गोबरसँगै डिएपी र पोटास मल प्रयोग गर्ने गरिएको उहाँले जानकारी दिनुभयो।
सुपारीखेतीबाट राम्रो आम्दानी गर्न सकिने भएकाले व्यावसायिक खेती गर्न चाहने युवालाई यसतर्फ आकर्षित हुन कार्कीको सुझाव छ। थोरै लगानी र तुलनात्मक रूपमा कम मेहनतबाट राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ। सुपारीखेती अहिले कार्कीका लागि आम्दानीको स्रोत मात्र बनेको छैन, दिनभरि व्यस्त रहने र खुसीका साथ समय बिताउने माध्यमसमेत बनेको छ। ८० वर्षको उमेरमा पनि आफ्नै बगानमा रमाइरहनुभएका उहाँको सक्रियता कृषि कर्ममा लाग्न चाहनेहरूका लागि प्रेरणादायी बनेको छ।

