मुस्ताङको चैले र चराङमा ३३ केभी सवस्टेसन निर्माण सुरु

मुस्ताङ, ४ पुस – मुस्ताङका वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा ३३ केभी विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ। नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैले/चराङ (मुस्ताङ) ३३ केभी प्रसारण लाइन तथा सवस्टेसन निर्माण आयोजनाले यहाँ दुईवटा सवस्टेसन निर्माण अघि बढाएको हो।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा मुस्ताङमा ३३ केभी प्रसारण लाइन तथा सवस्टेसन निर्माण प्रक्रिया अगाडि बढेको हो। अध्यक्ष विष्टसहित आयोजना र निर्माण कम्पनीका प्रतिनिधिले बिहीबार चैले र चराङ पुगेर सवस्टेसन निर्माणस्थलको स्थलगत अवलोकन तथा सर्वेक्षण गर्नुभएको छ।

भारतीय निर्माण कम्पनी देवयान्स र नेपाली निर्माण कम्पनी भिसानको सहकार्यमा गठित देवयान्स/भिसान जेभीले रु ३८ करोड लागतमा ठेक्का सम्झौता गरेको आयोजना प्रमुख विमलराज राउतले जानकारी दिनुभयो। उहाँका अनुसार मुस्ताङ जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने लक्ष्यसहित प्राधिकरणले गत वर्ष ठेक्का सम्झौता गरेको हो।

प्राधिकरणले एक वर्षअघि नै सवस्टेसन निर्माण प्रक्रिया सुरु गरे पनि सबै ठेक्का प्रक्रिया पूरा गर्न करिब ११ महिना समय लागेको आयोजना प्रमुख राउतले बताउनुभयो। आयोजना र निर्माण कम्पनीबीच चैले र चराङमा १५ महिनाभित्र सवस्टेसन निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको जनाउँदै उहाँले दुवै स्थानमा तीन–तीन एमभिए क्षमताका ३३ केभी सवस्टेसन निर्माण हुने जानकारी दिनुभयो।

प्राधिकरणको केन्द्रीय प्रसारण लाइनको सवस्टेसन रहेको थासाङ गाउँपालिका–२ कोवाङबाट करिब १०३ किलोमिटर दूरीमा पर्ने चैले र चराङमा सवस्टेसन निर्माण गर्न ठेक्का लगाइएको हो। करिब तीन हजार ८०० मिटर उचाइमा अवस्थित क्षेत्रमा हाइअल्टिच्युडको चुनौती थेग्न सक्ने गरी सवस्टेसन निर्माण गर्नुपर्ने भएकाले यसको लागत सामान्य डिजाइनभन्दा बढी भएको आयोजना प्रमुख राउतले बताउनुभयो।

उहाँका अनुसार हिउँ परे पनि समस्या नहुने र उच्च भू–भागमा सुरक्षित रूपमा सञ्चालन गर्न सकिने गरी सवस्टेसनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ। निर्माणस्थलको अवलोकन गर्दै आयोजना प्रमुख राउतले सवस्टेसन सम्पन्न भएपछि विद्युत् आपूर्ति सहज हुनुका साथै भोल्टेज सुधार हुने विश्वास व्यक्त गर्नुभयो।

माथिल्लो मुस्ताङस्थित लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष विष्टले हाल थासाङमा मात्रै ३३ केभीको सवस्टेसन भएकाले जिल्लाभर विद्युत् आपूर्तिमा समस्या हुँदै आएको बताउनुभयो। विद्युत् आपूर्तिलाई दीर्घकालीन रूपमा समाधान गर्न पालिका र सरोकारवाला निकायको पहलमा नयाँ सवस्टेसन निर्माण प्रक्रिया अघि बढाइएको उहाँले उल्लेख गर्नुभयो।

सवस्टेसन निर्माणलाई तीव्रता दिन प्राधिकरण र निर्माण कम्पनीका कर्मचारीलाई निरन्तर ताकेता गर्दै आएको बताउँदै अध्यक्ष विष्टले सवस्टेसन सम्पन्न भएपछि विद्युत् आपूर्तिको समस्या समाधान हुनुका साथै पर्यटन, कृषि र औद्योगिक विकासमा समेत टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

यसअघि आयोजनाअन्तर्गत मुस्ताङको कोवाङबाट लोघेकर दामोदरकुण्ड–१ चराङसम्म ३३ केभी विद्युत् प्रसारण लाइन विस्तारको काम सुरु भइसकेको छ। दुई वर्षे सम्झौता अवधि रहेको उक्त प्रसारण लाइनको हालसम्म करिब ९५ प्रतिशत भौतिक प्रगति हासिल भएको निर्माण कम्पनीका प्रतिनिधि नवराज कडरियाले जानकारी दिनुभयो। केही स्थानमा जग्गा तथा स्थानीय अवरोधका कारण काममा ढिलाइ भएको उहाँको भनाइ छ।

Facebook Comments Box