एसियाली राजमार्ग निर्माणमा देखिएका अवरोध हटाउन प्रशासन सक्रिय
भद्रपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकरभिट्टा–लौकही सडक निर्माणमा देखिएका अवरोध हटाउन झापा प्रशासनले पहल थालेको छ। स्थानीयवासीका विभिन्न माग, निर्माण सामग्रीको अभाव तथा विद्युत्का पोल स्थानान्तरणमा देखिएको समस्याका कारण सडक निर्माण प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालयले समाधानका लागि सक्रियता देखाएको हो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले शनिबार आयोजनाका प्रतिनिधिसहित निर्माणाधीन सडकखण्डको स्थलगत निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गरी समाधानका लागि सरोकारवालासँग समन्वय भइरहेको जानकारी दिनुभयो।
निर्माण कम्पनी इभ्रास्कन–कालिका जेभीका अनुसार सडकको प्रारम्भिक डिजाइन परिवर्तन गरी ओभरपास, बस स्ट्यान्ड तथा विद्यालय क्षेत्रमा थप संरचना निर्माण गर्न स्थानीयवासी र जनप्रतिनिधिबाट माग आएपछि केही स्थानमा काम रोकिएको छ। त्यस्तै, ओभरपास निर्माणका लागि आवश्यक माटो उपलब्ध नहुनु, कालोपत्रका लागि आवश्यक सामग्रीको आपूर्ति तथा विद्युत्का पोल स्थानान्तरणमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको आयोजनाले जनाएको छ।
आयोजनाका अनुसार काँकरभिट्टामा थप ओभरपास निर्माण, धुलाबारीमा बस स्ट्यान्ड व्यवस्थापन तथा चारआली र विद्यालय क्षेत्रमा ओभरपास निर्माणको माग उठेको छ। एसियाली विकास बैंकको सहयोगमा काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्म ९५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ। यसको पूर्वी खण्डअन्तर्गत काँकरभिट्टादेखि सीतापुरीसम्मको ४५ किलोमिटर सडक निर्माणको जिम्मा इभ्रास्कन–कालिका जेभीले पाएको छ।
१० अर्ब ६ करोड ९४ लाख रुपैयाँभन्दा बढी लागतमा निर्माण भइरहेको उक्त खण्डको भौतिक प्रगति हालसम्म ५६ प्रतिशत पुगेको छ। निर्माण सम्झौताको अवधि सकिन करिब तीन महिना बाँकी रहँदा आयोजनाले सम्झौता अवधिभित्र ७० प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य राखेको छ। प्रमुख जिल्ला अधिकारी पोखरेलले निर्माण कार्यलाई तीव्रता दिन तथा सडकमा सुरक्षित आवागमनका लागि व्यवस्थित डाइभर्सन, पर्याप्त साङ्केतिक चिह्न र प्रभावकारी ट्राफिक व्यवस्थापन गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ।

