एनपीएलमा आज दुई खेल हुँदै, वर्षाका कारण खेल प्रभावित हुने जोखिम

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज शनिबार दुई खेल हुँदैछन्। तर, लगातारको वर्षा र मौसम प्रतिकूलताका कारण दुवै खेल प्रभावित हुने जोखिम बढेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

यस्तै, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुनेछन्। यो खेल अपराह्न ५ बजे सुरु हुने तालिका छ। प्रतियोगितामा लुम्बिनी र चितवनले समान एक खेल जितेका छन्। सुदूरपश्चिमले दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ भने विराटनगरले सुरुवाती दुवै खेल गुमाएको छ।

पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई सात विकेटले पराजित गरेको थियो। यस्तै, चितवनले विराटनगरलाई आठ रनले हराएको थियो। दोस्रो खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो। विराटनगर भने चितवन र कर्णाली याक्ससँग पराजित भएको छ।

यसैबीच, बिहीबार बेलुकीदेखि शुक्रबार दिनभर परेको वर्षाका कारण कीर्तिपुरको मैदान प्रभावित भएको छ। मौसमविद्ले शनिबार बिहान मेघगर्जनसहित वर्षा हुने र बेलुकासम्म हल्का वर्षाको सम्भावना रहेको बताएका छन्। दिउँसो मौसम क्रमशः खुल्दै जाने अनुमान गरिए पनि वर्षाका कारण आजका दुवै खेल सञ्चालनमा चुनौती देखिएको छ।

Facebook Comments Box