भुटानमा आकस्मिक बाढी, हिमताल विस्फोटको आशंका; जोखिम क्षेत्रका बासिन्दा सुरक्षित स्थानमा सारिए
काठमाडौँ । भुटानमा गएराति एक्कासि ठूलो बाढी आएपछि हिमताल विस्फोट भएको आशंका गरिएको छ । बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ भने विभिन्न सडक तथा पूर्वाधारमा क्षति पुर्याएको छ । भुटान ब्रोडकास्टिङ सर्भिसका अनुसार मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लाको सौर्य सिँचाइ प्रणालीमा समेत क्षति पुर्याएको छ । बाढीले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको छ । त्यस्तै, लाया क्षेत्रको सडकमा क्षति पुगेपछि उक्त क्षेत्र अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ ।
बाढीबाट मानवीय क्षति भएको विवरण अहिलेसम्म प्राप्त भएको छैन । रातिको समयमा बाढी आएकाले क्षतिको पूर्ण विवरण सङ्कलन हुन नसकेको अधिकारीहरूले जनाएका छन् । भुटानको गासा जिल्लामा रहेको सिन्ताफु हिमताल विस्फोट भएर बाढी आएको हुनसक्ने आशंका गरिएको छ । उक्त ताल भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो ।
ताल मो छू नदीको मुहान क्षेत्रमा रहेकाले नदीमा आएको आकस्मिक बाढीसँग यसको सम्बन्ध हुनसक्ने अनुमान गरिएको हो । यद्यपि, हिमताल विस्फोट भएको आधिकारिक पुष्टि भने भएको छैन । बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रका सैनिक, कर्मचारी तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।
गासा छाचुको तातोपानी कुण्डमा रहेका कर्मचारी र आगन्तुक तथा पुनाखाको येबिसा क्षेत्रमा रहेका आवासीय विद्यार्थीलाई समेत सुरक्षित स्थानमा लगिएको छ । यसैबीच, भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले मो छू नदीको जलस्तर निरन्तर निगरानी गरिरहेको जनाएको छ । मो छू र पुनात्साङछु नदीको तल्लो तटीय क्षेत्रमा साइरन प्रणाली सक्रिय पारिएको छ ।
सम्भावित बाढी र गेग्रानको जोखिमलाई ध्यानमा राख्दै पुनात्साङछु–२ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरी बाँधका ढोका खोलेर जलाशयको पानीको सतह घटाएको छ । बाढीको वास्तविक कारण र क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको भुटानी अधिकारीहरूले जनाएका छन् ।

