काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा पुनः सुरु
काठमाडौँ, २९ असोज – जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा पुनः सुरु गरेको छ। कार्यालयले जारी गरेको सूचनाअनुसार, सेवा बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सिफ्टमा सञ्चालन हुनेछ। सीमित आवेदन स्टेशनबाट सुरु गरिएको यो सेवाका लागि अनलाइन स्लट हरेक साँझ ५ः०० बजे खुल्ने व्यवस्था गरिएको छ।
कार्यालयले सेवाग्राहीको अत्यधिक चाप र सीमित आवेदन स्टेशनको कारणले, आवेदन फारममा उल्लेख भएको समयमै उपस्थित हुन आग्रह गरेको छ। गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भवनमा आगजनी र तोडफोड भएका कारण राहदानी सेवा स्थगित भएको थियो।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी मुक्तिराम रिजालका अनुसार, आजदेखि राहदानी सेवा दुई सिफ्टमा नियमितरूपमा सञ्चालन हुनेछ।

