बाढीपहिरोले क्षतिग्रस्त बेनीको खानेपानी पाइपलाइन मर्मत तीव्र
म्याग्दी । बाढीपहिरोका कारण क्षतिग्रस्त म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्ति सहज बनाउन पाइपलाइन मर्मत तथा वैकल्पिक पाइपलाइन निर्माणलाई तीव्र पारिएको छ। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट पानी ल्याएर तिहारअघि नै आपूर्ति गर्ने तयारी गरेको छ।
संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार राहुपारे–गलेश्वर खण्डमा पाइपलाइन पुनर्निर्माण र डल्लेपिपलदेखि बेनी बजारसम्म वैकल्पिक पाइपलाइन विस्तार भइरहेको छ। पहिरोको जोखिम बढेपछि पाइपलाइनको मार्ग परिवर्तन गरी करिब तीन किलोमिटर नयाँ पाइप बिछ्याउनुपरेको उहाँले बताउनुभयो।
हाल बेनी बजारमा प्रतिसेकेन्ड आठ लिटर पानी मात्र आपूर्ति भइरहेको छ। बजारको माग भने प्रतिसेकेन्ड २० लिटरभन्दा बढी रहेको छ। पानीको अभावका कारण बेनी नगरपालिकाका वडा नम्बर २, ७ र ८ का एक हजार दुई सय घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्या प्रभावित भएका छन्।
डाँडाखर्क र रिठाखर्कका मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने पाइपलाइन एक महिनादेखि बन्द छ। वैकल्पिक मुहानसमेत सुक्न थालेपछि संस्थाले नयाँ स्रोतबाट पानी ल्याउने प्रयास गरेको हो। खानेपानी अभाव भएपछि यसअघि विभिन्न सङ्घसंस्थाले ट्याङ्कर र ड्रममार्फत बजारवासीलाई पानी वितरण गरेका थिए। कतिपय बासिन्दाले निजी मुहानबाट पानी ल्याएर उपभोग गर्न थालेका छन्।
संस्थाका सचिव केशवप्रसाद रेग्मीका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि १४ करोड ७० लाख रुपैयाँ र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ।

