विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुका कृतिलाई संयुक्त रूपमा प्रदान गरिने
सुनसरी – कवि भुपिन खड्काको निबन्ध सङ्ग्रह ‘मध्यको उज्यालो’ र जुनु रानाको निबन्ध सङ्ग्रह ‘लाहुरेनी सौन्दर्य’लाई यस वर्षको विमल गुरुङ कृति पुरस्कार संयुक्त रूपमा प्रदान गरिने भएको छ। धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिको बैठकले दुवै कृतिलाई पुरस्कार दिने निर्णय गरेको हो। पुरस्कारको राशि दुई लाख रुपैयाँ र ताम्रपत्र रहेको छ।
पुरस्कारका लागि स्वदेश तथा विदेशका लेखक र साहित्यकारबाट नेपाली भाषामा लेखिएका ५२ कृति प्राप्त भएका थिए। दुवै कृतिका सर्जकलाई कात्तिक १९ गते कवि विमल गुरुङको ५५औँ जन्मजयन्ती तथा ३५औँ राष्ट्रिय कविता महोत्सवका अवसरमा पुरस्कार प्रदान गरिने पुस्तकालयका अध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिनुभयो।
महोत्सवमा कविता प्रतियोगिताका तीन विजेतालाई पनि पुरस्कृत गरिनेछ। प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २१ हजार, १८ हजार र १७ हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। यस्तै, यस वर्षको युवा प्रतिभा सम्मान राष्ट्रिय समाचार समिति (रासस) सुनसरीकी संवाददाता सङ्गीता राईलाई प्रदान गरिने भएको छ। महोत्सवका अवसरमा वरिष्ठ पत्रकार तथा कवि प्रदीप मेन्याङ्बोले सम्पादन तथा संयोजन गर्नुभएको ‘विमल गुरुङका प्रतिनिधि कविताहरू’ शीर्षकको कविता सङ्ग्रह पनि लोकार्पण गरिनेछ।

