चक्रवात ‘अर्णव’को प्रभावले भारी वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्णव’को प्रभावले बिहीबारदेखि नेपालका विभिन्न स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ। कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि वर्षा र हिमपातको सम्भावना छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले कात्तिक १२ देखि १४ गतेसम्म भारी वर्षा, हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।

धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा भ्रमण नगर्न वा सुरक्षित स्थानमा रहन अनुरोध गरिएको छ। वर्षाका कारण पहिरो जाने, चिसो बढ्ने तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ।

Facebook Comments Box