गण्डकी प्रदेशको आगामी वर्षको बजेट पारित
गण्डकी, १३ असार – गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित बजेट प्रदेशसभाबाट बहुमतले पारित भएको छ। असार १ गते सार्वजनिक गरिएको बजेटमाथि मन्त्रालयगत छलफल र सदस्यहरूले उठाएका प्रश्नको जवाफपछि शुक्रबार बैठकले बजेट पारित गरेको हो।
प्रदेशसभा सदस्यहरूका जिज्ञासामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अन्य मन्त्रीहरूले जवाफ दिएका थिए। बैठकमा मुख्यमन्त्री पाण्डेले बजेट प्राथमिकताका आधारमा विनियोजन गरिएको बताए। उनका अनुसार कास्की र गोरखा जिल्लामा पुराना योजनाका दायित्वका कारण बजेट बढी परेको हो।
“कास्की प्रदेशको राजधानी र प्रमुख पर्यटकीय केन्द्र भएकाले प्राथमिकतामा पर्नु स्वाभाविक हो,” मुख्यमन्त्रीले स्पष्ट पार्नुभयो। गोरखामा पनि पुराना आयोजनाहरूको जिम्मेवारी पूरा गर्न बजेट विनियोजन गरिएको उहाँले बताउनुभयो।
भौतिक पूर्वाधारतर्फ रु ५० लाखभन्दा कम लागतका योजनामा बजेट नसमेट्ने नीति भए पनि, केही योजनामा पुरानो दायित्वका कारण न्यून रकम विनियोजन गर्नुपरेको उहाँले स्वीकार गर्नुभयो। साथै, स्रोत सुनिश्चित नगरी योजना छनोट गर्ने अभ्यास अन्त्य गर्नुपर्ने आवश्यकता पनि मुख्यमन्त्रीले औँल्याउनुभयो।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि कुल रु ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजारको बजेट प्रस्ताव गरेको थियो।

