भारतले गण्डक बाँधको सबै ढोका खोलिदिँदा पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबान

नवलपरासी, १७ साउन – नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँधको सबै ढोका खोलिदिँदा पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा परेका छन् ।

दुई दिनको लगातारको वर्षापछि भारतले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधका सबै ३६ वटै ढोका (फाटक) खोलेको हो । बाँधको ढोकाको चाबी सधैं भारतले राख्ने गरेको छ । भारतले ढोका खोलेसँगै नेपालका वस्ती डुबानको जोखिममा पर्ने गर्दछन् ।

देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीका सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र (तटीय क्षेत्र)मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो । पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ ।

साढे ८ लाख क्यूसेक बेगको पानी धान्ने गण्डक बाँधको क्षमता छ । पुरानो बाँध भएका कारण संरचनाहरु जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्यूसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका अमित खड्काले बताए ।

Facebook Comments Box