धौलीगङ्गा बाँधका ढोका खोलिने, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
खलङ्गा । भारतको उत्तराखण्डस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत छिरकिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका सिल्ट सफाइका लागि खोलिने भएपछि महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै असोज १७ गते राति १ बजेदेखि असोज १९ गते राति १ बजेसम्म ४८ घण्टाका लागि धौलीगङ्गा बाँधका ढोका खोलिने जनाएको छ । बाँधका ढोका खोलिएपछि महाकाली नदीमा पानीको सतह बढ्न सक्ने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा पूर्वसतर्कता अपनाउन प्रशासनले आग्रह गरेको हो ।
एनएचपीसी लिमिटेड, धौलीगङ्गा पावर स्टेसन तपोवन भारतबाट प्राप्त सूचनाका आधारमा प्रशासनले स्थानीयलाई सतर्क गराएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीले जानकारी दिनुभयो । भारतीय पक्षले वर्षायाममा बाँधमा जमेको सिल्ट सफाइ गर्न समय–समयमा ढोका खोल्ने गरेको छ । धौलीगङ्गा बाँधबाट पानी छोडिएपछि दार्चुलादेखि बैतडी, डडेल्धुरा र कञ्चनपुर हुँदै भारततर्फ बग्ने महाकाली नदीको जलस्तर बढ्न सक्ने भएकाले नदी छेउछाउमा नजान प्रशासनले अनुरोध गरेको छ ।
दार्चुलामा व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाई सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ । २८० मेगावाट विद्युत् उत्पादन क्षमता रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्नुअघि भारतीय पक्षले नेपाली प्रशासनलाई जानकारी गराउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी धामीले बताउनुभयो ।

