देउवा पक्षीय कांग्रेसको वडा अधिवेशन आज हुँदै

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन आजदेखि सुरु गर्ने भएको छ । कांग्रेसको संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पक्षले समानान्तर रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको हो ।

देउवा पक्षले आफ्नो महाधिवेशन मङ्सिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका बनाएको छ । सोहीअनुसार असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने तालिका तय गरिएको छ ।

देउवा पक्षले उक्त कार्यतालिकाबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइसकेको जनाएको छ । पार्टी नेता किरणराज पौडेलका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत पठाइएको छ भने वडा अधिवेशनका लागि ५६ जिल्लामा निर्वाचन संयोजक खटाइएको छ ।

कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै देउवा पक्षले तत्काल महाधिवेशन गर्न नहुने धारणा राख्दै आएको थियो । संस्थापन पक्षले असोज ३ गतेदेखि महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि छुट्टै कार्यतालिका बनाएर अधिवेशन प्रक्रिया थालेको हो ।

देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा शशाङ्क कोइरालाले वडा तहदेखि नै सङ्गठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताउँदै नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यलाई सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन् । देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै संस्थापन पक्षले आह्वान गरेको महाधिवेशन प्रक्रियामा सहभागी नभएको जनाएको छ ।

Facebook Comments Box