पोल मर्मत र नयाँ जडानका लागि काठमाडौँका केही क्षेत्रमा आज विद्युत् कटौती

काठमाडौँ, ३० फागुन – नेपाल विद्युत् प्राधिकरण ले पोल मर्मत तथा नयाँ जडान कार्यका कारण आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति अस्थायी रूपमा बन्द हुने जनाएको छ। प्राधिकरणले सूचना जारी गर्दै गोठाटार र बत्तीसपुतली फिडर अन्तर्गतका क्षेत्रमा विद्युत् कटौती हुने जानकारी दिएको हो। बानेश्वर वितरण केन्द्र को कार्यक्षेत्रमा पर्ने यी फिडरबाट वितरण हुने ११ केभी लाइन मर्मतका लागि काम गर्न लागिएको बताइएको छ।

जीर्ण अवस्थामा रहेका पोल मर्मत तथा नयाँ पोल जडान गर्ने कार्यका लागि बिहान ११ बजेदेखि अपराह्न १ः३० बजेसम्म पेप्सीकोलाटाउन प्लानिङ क्षेत्रमा विद्युत् कटौती हुनेछ। त्यसैगरी मध्य बानेश्वर, पुरानो बानेश्वरबत्तीसपुतली क्षेत्रमा अपराह्न २ बजेदेखि ४ बजेसम्म विद्युत् आपूर्ति बन्द रहने सूचनामा उल्लेख छ।

निर्धारित समयभन्दा अगावै काम सम्पन्न भएमा विद्युत् सेवा नियमित रूपमा सञ्चालन गरिने प्राधिकरणले जनाएको छ। विद्युत् कटौतीका कारण उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ।

Facebook Comments Box