जम्मु-कश्मीरमा सीआईएसएफ जवानले गोली चलाउँदा चार जनाको मृत्यु

 काठमाडौं । भारतको जम्मु-कश्मीरस्थित कठुआ जिल्लामा केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का एक जवानले सहकर्मीमाथि गोली चलाउँदा असिस्टेन्ट कमान्डेन्टसहित चार जनाको मृत्यु भएको छ। भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार मंगलबार साँझ करिब साढे ७ बजे बसोहलीनजिकै माश्कामा घटना भएको हो। सीआईएसएफका हेडकन्स्टेबल अभिदेश कुमारको केही सहकर्मीसँग विवाद भएपछि उनले राइफलबाट गोली चलाएको आरोप छ।

गोली लागेर चार जना सीआईएसएफ कर्मचारी गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि नजिकैको एनएचपीसी अस्पताल लगिएकोमा उपचारका क्रममा चारै जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा असिस्टेन्ट कमान्डेन्ट अंकितकुमार पाण्डे, सब–इन्स्पेक्टर लक्ष्मण सिंह, कन्स्टेबल रफीक अहमद र कन्स्टेबल सन्दीप कुमार रहेका छन्।

घटनापछि अन्य सीआईएसएफ जवानले अभिदेश कुमारलाई नियन्त्रणमा लिएका थिए। पछि प्रहरीले उनलाई पक्राउ गरेको छ। घटनामा प्रयोग भएको राइफलसमेत बरामद गरिएको अधिकारीहरूले बताएका छन्। घटनाबारे जानकारी पाएलगत्तै सीआईएसएफ तथा प्रहरीका वरिष्ठ अधिकारी घटनास्थल पुगेका थिए। गोली चलाउनुको वास्तविक कारण र घटनाको परिस्थितिबारे अनुसन्धान भइरहेको अधिकारीहरूले जनाएका छन्।

Facebook Comments Box