बाढीपहिरोका कारण मनाङमा सयौँ पर्यटक रोकिए

मनाङ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्यटक आउने मुख्य याम सुरु भए पनि अविरल वर्षा र बाढीपहिरोका कारण मनाङ पुगेका सयौँ पर्यटक त्यहीँ रोकिएका छन्। आइतबारदेखि परेको लगातार वर्षाका कारण माथिल्लो मनाङमा हिमपात भएको छ भने तल्लो मनाङमा मर्स्याङ्दी नदीमा आएको बाढीले सडक तथा पदमार्गका विभिन्न खण्डमा क्षति पुर्‍याएको छ।

नदी थुनिएपछि माथिल्लो मनाङ पुगेका पर्यटक उतै रोकिएका छन् भने चामेदेखि तल रहेका पर्यटक पनि आवतजावत गर्न नसक्ने अवस्थामा छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार माथिल्लो मनाङ पुगेका २२६ विदेशी पर्यटकको दर्ता भएको छ। तीमध्ये ४४ जना फर्किएका छन्। थोराङ्ला पास गर्न पुगेका करिब १५० पर्यटक बाक्लो हिमपात भएपछि मनाङ फर्किएका छन्।

मनाङ गाउँमा रहेका पर्यटक सुरक्षित रहेको प्रमुख भुजेलले बताउनुभयो। बिरामी तथा प्रवेशाज्ञाको अवधि सकिएका केही पर्यटक भने हेलिकप्टरमार्फत फर्किएका छन्। सञ्चार तथा विद्युत् सेवा अवरुद्ध भएकाले मनाङमा रहेका पर्यटकको यकिन सङ्ख्या भने थाहा पाउन कठिन भएको उहाँले बताउनुभयो।

एक्यापका पर्यटन शिक्षा सहायक भूपेन्द्र गुरुङका अनुसार धारापानी चेकपोस्टमा सेप्टेम्बर २२ देखि २८ तारिखसम्म ५९० विदेशी पर्यटक दर्ता भएका थिए। अविरल वर्षा तथा बाढीपहिरोका कारण १४६ पर्यटक फर्किएका छन्। मर्स्याङ्दी नदीको कटानले सडकको ट्र्याक अधिकांश स्थानमा बगाएपछि पर्यटक तथा स्थानीयवासीको आवतजावत प्रभावित भएको छ।

भासिएका सडकमा नयाँ ट्र्याक निर्माण नभएसम्म आवागमन सहज हुने अवस्था नरहेको र सडकमा क्षति पुगेका कारण निर्माण उपकरणसमेत पुर्‍याउन कठिन भएको जनाइएको छ। थोराङ्ला पास गर्न चाहने पर्यटकलाई मुस्ताङबाट हेलिकप्टरमार्फत फर्किन सक्ने भएकाले त्यसतर्फ जान अनुमति दिइएको एक्यापले जनाएको छ। सडक तथा पदमार्गको अवस्था सुधार नभएसम्म मनाङमा रोकिएका पर्यटकलाई तत्काल यात्रा गर्न कठिन हुने देखिएको छ।

Facebook Comments Box