आज प्रतिनिधिसभा र चार संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तथा एउटा विधेयक पारित गर्ने कार्यसूची रहेको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
यस्तै, कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ । यसैगरी, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८३’ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
प्रतिनिधिसभा बैठकसँगै आज सङ्घीय संसद्अन्तर्गत चार वटा संसदीय समितिको बैठक पनि बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

