बाढीपहिरोका कारण देशका प्रमुख सडक प्रभावित
काठमाडौँ । बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग तथा सडक खण्डमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार अधिकांश स्थानमा यातायात पूर्ण रूपमा ठप्प छ भने केही सडकमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । काठमाडौँ उपत्यकाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–४ टिकाभैरव–चारधारे सडकमा पहिरोका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
कान्तिलोकपथको ताकुर्चे खण्ड भने पूर्ण रूपमा अवरुद्ध छ । रसुवाका मुख्य राजमार्गका सबै खण्ड बाढीका कारण अर्को सूचना नभएसम्मका लागि पूर्ण रूपमा बन्द छन् । गण्डकी प्रदेशमा पनि बाढीपहिरोले सडक आवागमन प्रभावित बनाएको छ । मनाङको बेँसीसहर–खाडसार सडक बाढीका कारण तथा म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडक पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छन् ।
मुस्ताङको जोमसोम–कोरला सडक, पर्वतको मालढुङ्गा–बेनी तथा मध्यपहाडी लोकमार्ग, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र लमजुङको मध्यपहाडी लोकमार्ग पनि पहिरोका कारण बन्द छन् । बागलुङको कालीगण्डकी करिडोरमा भने पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ ।
लुम्बिनी प्रदेशअन्तर्गत गुल्मीको कालीगण्डकी करिडोर पूर्ण रूपमा बन्द छ भने पाल्पाको सिद्धार्थ राजमार्गमा पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिएको छ । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले यात्रामा निस्कनुअघि स्थानीय प्रहरी वा सम्बन्धित निकायसँग सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ ।

