बाढीपहिरोका कारण देशभरका प्रमुख राजमार्ग तथा सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न भागका मुख्य राजमार्ग तथा सहायक सडक प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार अधिकांश प्रभावित सडकमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । काठमाडौँ उपत्यका र बागमती प्रदेशअन्तर्गत ललितपुरको कान्तिलोकपथ तथा टिकाभैरव–चारघरे सडक पहिरोका कारण पूर्ण रूपमा बन्द छन् ।

धादिङको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिर र चालिसेमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि सुरक्षाका कारण धादिङ र आसपासका क्षेत्रमा अर्को सूचना नभएसम्म आवागमन रोकिएको छ । रसुवाका मुख्य राजमार्गहरू बाढीका कारण ठप्प छन् भने मकवानपुरको हेटौँडा–भैँसे–भीमफेदी–फाखेल–काठमाडौँ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा बन्द छ । काभ्रेको बीपी राजमार्गमा भने एकतर्फी यातायात सञ्चालनमा छ ।

कोशी प्रदेशको सोलुखुम्बुमा भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै सिद्धिचरण लोकमार्गलगायत सडकमा राति ८ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन तथा पैदलयात्रीको आवागमनमा रोक लगाइएको छ । गण्डकी प्रदेशमा पनि पहिरोका कारण सडक सञ्जाल प्रभावित भएको छ ।

मनाङको चामे–बेँसीसहर, बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी–जोमसोम र बेनी–दरबाङ सडक पूर्ण रूपमा बन्द छन् । मुस्ताङको जोमसोम–कोरला, पर्वतको मालढुङ्गा–बेनी, नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, लमजुङको मध्यपहाडी लोकमार्ग र तनहुँको पृथ्वी राजमार्गअन्तर्गत घाँसीकुवा क्षेत्रमा पनि यातायात ठप्प भएको छ ।

यस्तै, लुम्बिनी प्रदेशको गुल्मीस्थित कालीगण्डकी करिडोर तथा कर्णाली प्रदेशको कालिकोटस्थित कर्णाली राजमार्गको गगने खोला र मुगुको नाग्म–गमगढी सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध भएका छन् । प्रहरी तथा स्थानीय प्रशासनले अवरुद्ध सडक खुलाउने प्रयास गरिरहेका छन् । प्रहरीले यात्रामा निस्कनुअघि सम्बन्धित क्षेत्रको सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

Facebook Comments Box