स्पेसएक्सको स्टारसिप रकेट सफलतापूर्वक पृथ्वीको कक्षमा

काठमाडौँ । इलोन मस्कको कम्पनी स्पेसएक्सले आफ्नो पुनःप्रयोग गर्न मिल्ने सुपर हेभी–स्टारसिप रकेटलाई सफलतापूर्वक पृथ्वीको कक्षमा पुर्‍याएको छ । सोमबार प्रक्षेपण गरिएको स्टारसिपले पृथ्वीको कक्षमा करिब तीन घण्टा बिताएपछि प्रशान्त महासागरमा अवतरण गरेको हो । यद्यपि, समुद्रमा अवतरण अघिल्ला परीक्षणको तुलनामा सहज नभएको स्पेसएक्सले आफ्नो प्रत्यक्ष प्रसारणमार्फत जनाएको छ ।

अवतरण भएको केही समयपछि प्रत्यक्ष प्रसारणमा समुद्रमा ठूलो आगोको गोला देखिएको थियो । अभियान करिब १० घण्टासम्म सञ्चालन गर्ने तालिका रहे पनि स्पेसएक्स टोलीले निर्धारित समयअघि नै अभियान सम्पन्न गर्ने निर्णय गरेको थियो । स्टारसिपले नेक्स्ट जेनेरेसनका २६ वटा स्टारलिङ्क भी३ उपग्रहसमेत पृथ्वीको कक्षमा तैनाथ गरेको छ । ती उपग्रह पृथ्वीबाट ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गर्ने स्टारलिङ्कको सञ्जालमा जोडिनेछन् ।

प्रक्षेपणअघि इन्जिनमा समस्या देखिएपछि रकेटलाई कक्षमा पठाउने वा नपठाउने विषयमा इन्जिनियरहरू अन्योलमा थिए । पछि प्रक्षेपण गर्ने निर्णय गरिएको थियो । स्पेसएक्सले स्टारसिपलाई हालसम्मकै सबैभन्दा शक्तिशाली प्रक्षेपण यान भएको दाबी गर्दै आएको छ । कम्पनीले भविष्यमा यही यानमार्फत चालक दल र सामानलाई पृथ्वीको कक्षसँगै चन्द्रमा, मंगल ग्रह र त्यसभन्दा अगाडिसम्म पुर्‍याउने लक्ष्य राखेको जनाएको छ ।

Facebook Comments Box