बागलुङमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो

बागलुङ । अविरल वर्षापछि गएको बाढीपहिरोमा परी बागलुङमा मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । पछिल्लो तीन दिनयता विभिन्न स्थानमा गएको पहिरोले घर पुरिँदा १२ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार ताराखोला गाउँपालिका–५ सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी सासु म्याग्दीको मालिका गाउँपालिका–२ की ७९ वर्षीय नरमाया रोका रहेका छन् ।

पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् । यसअघि गत शनिबार ताराखोला गाउँपालिकामै एक जनाको मृत्यु भएको थियो । आइतबार तमानखोला गाउँपालिकामा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् ।

यस्तै, निसीखोला गाउँपालिकामा पहिरोमा परी पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ । लगातारको वर्षापछि जिल्लाका विभिन्न स्थानमा बाढीपहिरोको जोखिम बढेको छ । प्रहरीले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

Facebook Comments Box