आज सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ । सूचनामा विश्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। हरेक वर्ष सेप्टेम्बर २८ मा मनाइने यो दिवस संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१९ मा घोषणा गरेको हो। सूचनाको हकलाई नागरिकको अभिव्यक्ति स्वतन्त्रताको महत्वपूर्ण हिस्सा मान्दै विश्वभर यो दिवस मनाउने गरिएको छ।

राष्ट्रिय सूचना आयोगका अनुसार नेपालमा पनि सूचनाको हकबारे नागरिकमा जनचेतना बढाउने तथा सार्वजनिक निकायलाई सूचना प्रवाहप्रति जिम्मेवार बनाउने उद्देश्यले विभिन्न कार्यक्रम हुँदै आएका छन्। विशेषगरी ग्रामीण, सीमान्तकृत तथा पछाडि परेका समुदायमा सूचनाको हकबारे अझै पर्याप्त जानकारी पुर्‍याउन आवश्यक रहेको आयोगले जनाएको छ। आयोगले सूचना प्रवाहलाई सहज बनाउन सामाजिक सञ्जाल, इन्टरनेट र इमेलजस्ता विद्युतीय माध्यमको प्रभावकारी प्रयोगमा जोड दिँदै आएको छ।

सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले पनि सूचनाको अधिकारलाई स्थानीय तहसम्म पुर्‍याउन जागरण तथा अन्तर्क्रियालगायतका कार्यक्रम गर्दै आएको जनाएको छ। नेपालको संविधानको धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ र नियमावली कार्यान्वयनमा रहे पनि तीनै तहका सरकारले सूचनाको हकलाई नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिनुपर्ने महासङ्घले जनाएको छ।

सूचनाको हकसम्बन्धी ऐन, २०६४ निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले राष्ट्रिय सूचना आयोगमा शीघ्र पदाधिकारी नियुक्तिको वातावरण बनाउन ध्यानाकर्षण गराउँदै यस वर्षको दिवस रचनात्मक कार्यक्रमसहित मनाइने जानकारी दिनुभएको छ।

Facebook Comments Box