साकेला गाउँपालिकामा नागरिकताको सिफारिस अब अनलाइनमार्फत
खोटाङ, ५ मङ्सिर – साकेला गाउँपालिकाले नेपाली नागरिकताको सिफारिस अनलाइन प्रणालीमार्फत प्रदान गर्न थालेको छ। पहिले ‘म्यानुअल’ रूपमा दिइँदै आएको सेवा अब पूर्ण रूपमा अनलाइनमा रूपान्तरण गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ५ का वडाध्यक्ष जीवन खत्रीले जानकारी दिनुभयो।
गृह मन्त्रालयअन्तर्गतको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीसँग जोडिएको नयाँ प्रविधिमार्फत सेवाग्राहीले वडा कार्यालयमा निवेदन दिंदा, सो विवरण अनलाइनमा प्रविष्ट भएर वडाध्यक्षबाट प्रमाणित हुन्छ। त्यसपछि जिल्ला प्रशासन कार्यालयले उक्त प्रमाणित विवरणका आधारमा नागरिकता प्रमाणपत्र प्रिन्ट गरी सेवाग्राहीलाई उपलब्ध गराउनेछ।
गाउँपालिका प्रमुख रविप्रकाश राईका अनुसार अनलाइन प्रणालीले सिफारिस र वितरण प्रक्रियामा पारदर्शिता, एकरूपता र समय बचत हुने भएकाले यो सेवा अनिवार्य रूपमा डिजिटल माध्यममा सारिएको हो। उहाँले यसलाई गाउँपालिकामा ‘डिजिटलीकरण’को नयाँ अध्यायका रूपमा वर्णन गर्नुभयो।
जिल्लाको सबैभन्दा सानो, पाँच वडामा सीमित साकेला गाउँपालिकामा जन्म, मृत्यु, बसाइँसराइ, विवाह दर्ता तथा सम्बन्धविच्छेदलगायतका सबै पञ्जीकरण कार्यहरू पहिले नै अनलाइनबाट प्रदान हुँदै आएका थिए। नयाँ प्रणालीले प्रशासनिक सेवा अझ छिटो, पारदर्शी र झन्झटमुक्त भएको स्थानीयहरूले बताएका छन्।

