कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासमा न्यून चापीय प्रणाली बनेको छ । उक्त प्रणाली आगामी दिनमा थप विकसित हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ ।
हाल कोशी र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकीका हिमाली र पहाडी क्षेत्रमा बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा सामान्य बदली तथा मधेसमा आंशिक बदली रहेको छ । कोशी र बागमतीका केही तथा गण्डकी, लुम्बिनी र कर्णालीका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
सोमबार हिमाली तथा पहाडी भूभाग, मधेस तथा बागमती र गण्डकीका तराई क्षेत्रमा सामान्य बदली रहनेछ । कोशी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ ।
मधेस तथा कोशी र बागमतीका तराई क्षेत्रमा केही स्थानमा वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

