तीन महिनापछि चितवन मिल्क उद्योग पुनः सञ्चालनमा
चितवन, २८ असोज – तीन महिनादेखि बन्द रहेको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा आएको छ। दूधको अभावका कारण जेठको अन्तिम सातादेखि बन्द रहेको उद्योग डेरी र सहकारीहरूले दूध आपूर्ति गर्न थालेपछि असोजको पहिलो सातादेखि क्रमशः सञ्चालनमा आएको हो।
उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार अहिले दैनिक करिब ८० हजारदेखि एक लाख लिटरसम्म दूध प्रशोधन हुँदैछ। उहाँले भन्नुभयो, “डेरी र सहकारीहरूले दूध पठाउन थालेपछि उद्योग फेरि सञ्चालनमा आएको हो।”
पहिले दूध नआएपछि उद्योग आफैंले दूध खरिद गरी सञ्चालन गर्ने तयारी गरेको भए पनि पर्याप्त आपूर्ति नहुँदा उत्पादन बन्द गर्नुपरेको थियो। अहिले दशैं बिदाबाहेक नियमित रूपमा उद्योग सञ्चालन भइरहेको प्रबन्धक पराजुलीले बताउनुभयो।
किसानबाट सङ्कलित दूध बिक्री नहुँदा डेरी र सहकारीहरूले उद्योगमा ल्याएर प्रशोधन गराउने गरेका छन्। उद्योगले मुख्यतः धुलो (पाउडर) दूध र नौनी (बटर) उत्पादन गर्छ।
चितवन, मकवानपुर, नवलपरासी र रुपन्देहीलगायत जिल्लाबाट दूध आपूर्ति भइरहेको उद्योगका प्रबन्धकले जानकारी दिनुभयो। गत वर्ष उत्पादन भएका नौनी, घ्यू र धुलो दूध बिक्री नभएपछि गोदामहरू भरिएका थिए, जसका कारण पनि उद्योग सञ्चालनमा समस्या आएको थियो।
भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले सन् २०७५ देखि डेरी तथा सहकारीको दूध शुल्क लिएर प्रशोधन गर्दै आएको छ। प्रतिलिटर पाउडर दूध प्रशोधन शुल्क रु ११३ र घ्यू (बटर) प्रशोधन शुल्क प्रतिकिलो रु ५५ लिइने गरिएको छ।
वि.सं. २०६४ मा स्थापना भएको यो उद्योग भूकम्पपछि २०७२ मा बन्द भएको थियो। त्यसअघि उद्योगले आफैं दूध खरिद गरी प्रशोधन र बिक्री गर्दै आएको प्रबन्धक पराजुलीले बताउनुभयो।

