भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त

काठमाडौं, ६ चैत – दक्षिणी छिमेकी भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मालाई आइतवार भारतका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन्।

मन्त्रिपरिषद्को सिफारिसमा शर्मालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। भारतका लागि नेपाली राजदूतमा प्रस्तावित डा. शर्माको एग्रिमो नयाँ दिल्लीले चैत २ मा पठाएको थियो। शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक ११ गते शर्मासहित तीन देशका लागि राजदूत सिफारिस गरेको थियो।

अमेरिका र बेलायतबाट एग्रिमो आइसकेर ती दुवै देशमा नेपाली राजदूतहरुले कार्यभार सम्हालिसकेका छन्। अमेरिका र बेलायतका लागि क्रमश: श्रीधर खत्री र ज्ञानचन्द्र आचार्य नियुक्त भइसकेका छन्।

सामान्यतया भारतले तीन महिनाभित्र राजदूतका नाममा सहमति दिने गरेको थियो। तर यस पटक तीन महिना एक सातापछि सहमति पठाएको हो। भारतका लागि राजदूतमा प्रस्तावित शर्मा ख्याति प्राप्त अर्थविद् हुन्।

शर्माले अमेरिकाको हवाई युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। सन् २००२ देखि २००६ सम्म उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए। सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि नेपाली राजदूत रहँदा प्रभावकारी कूटनीति सञ्चालन गरेकोमा वाहवाही कमाएका थिए।

शर्माले पिसकोर भोलिन्टियर नेपालमा पुनः फर्काउन, अमेरिकी संसदमा नेपाल ‘ककस’ समूह खडा गर्न र अमेरिकासँग व्यापारसम्बन्धी द्विपक्षीय टिफा सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेका थिए।

यस्तै त्यहाँस्थित नेपाली समुदायमाझ उनले राम्रो छवि बनाउन समेत सफल भएका थिए। त्यसबेला राजनीतिक कोटामा राजदूतको नियुक्ति पाएकामध्ये उत्कृष्ट ‘पर्फमेन्स’ देखाउने शर्मा पनि एक थिए।

Facebook Comments Box