बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध
काठमाडौँ – बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका केही सडक पूर्ण रूपमा बन्द छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
बागमती प्रदेशअन्तर्गत रसुवाको मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ । नुवाकोटको टोखा–छहरे सडकखण्डअन्तर्गत शिवपुरी गाउँपालिका–६ धादिङखोलामा बाढीपहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
यस्तै, नुवाकोटकै विदुर नगरपालिका–१० सिमटारमा पासाङ ल्हामु सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित पृथ्वी राजमार्गमा भने पहिरोका कारण एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ । गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ क्षेत्रमा पहिरोका कारण चामे–बेँसीसहर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ क्षेत्रमा पहिरोका कारण कर्णाली करिडोरसमेत पूर्ण रूपमा अवरुद्ध रहेको सडक विभागले जनाएको छ । सम्बन्धित निकायले बाढीपहिरोको जोखिम भएका सडकखण्डमा आवश्यक सतर्कता अपनाउन तथा सडकको अवस्था र सम्बन्धित निकायको सूचनाका आधारमा मात्र यात्रा गर्न आग्रह गरेको छ ।

