कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २ असोजः देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले देशभर सामान्यतया बादल लागेको छ । हाल बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका पहाडी भूभागका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ । तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लाग्नेछ भने तराईका भूभागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र कर्णालीका हिमाली भूभागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

