मुस्ताङमा आजदेखि राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु हुँदै
काठमाडौँ । मुस्ताङको जोमसोममा आजदेखि राष्ट्रियस्तरको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ सुरु हुँदैछ । घरपझोङ गाउँपालिकाको आयोजनामा हुने सम्मेलनमा देशभरका ७५३ वटै स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई सहभागी गराउने तयारी गरिएको छ ।
सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिए । सम्मेलनका लागि सबै जिल्लाका जिल्ला समन्वय समिति प्रमुख तथा प्रदेशका वातावरणसम्बन्धी मन्त्रीलाई समेत आमन्त्रण गरिएको छ । सङ्घीय वातावरणमन्त्री गीता चौधरीले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष लालचनका अनुसार जलवायु परिवर्तनको असर, त्यसको न्यूनीकरणका लागि स्थानीय तहले गरेका प्रयास, भोगेका समस्या तथा आगामी कार्यदिशाका विषयमा सम्मेलन केन्द्रित हुनेछ । दुई दिनसम्म चल्ने सम्मेलन बुधबार ‘घरपझोङ घोषणापत्र’ जारी गर्दै सम्पन्न हुनेछ ।
रसुवामा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि जलवायु परिवर्तनको विषय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा थप चर्चामा रहेका बेला सम्मेलन आयोजना हुन लागेको हो । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने क्रममा जलवायु परिवर्तनसम्बन्धी विषय उठाउने तयारी गरिरहेकाले सम्मेलनको सान्दर्भिकता थप बढेको अध्यक्ष लालचनले बताए ।
सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री शाहलाई समेत निमन्त्रणा गरिएको थियो । तर, उनी सहभागी नहुने र प्रधानमन्त्रीबाट शुभकामना सन्देश प्राप्त भएको अध्यक्ष लालचनले जानकारी दिए । सम्मेलनमा सहभागी हुन करिब ५०० स्थानीय तहका प्रमुख सोमबार नै जोमसोम पुगिसकेका छन् । ३६ जिल्लाका जिल्ला समन्वय समिति सभापतिसमेत जोमसोम आइपुगेका छन् ।
सम्मेलनमा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड), डब्लुडब्लुएफ, प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घ (आईयुसीएन), त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्र विभाग, वातावरण विज्ञ, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र कृषि, वन तथा पर्यावरण मन्त्रालयलगायतका विज्ञ टोलीको सहभागिता रहनेछ ।
उद्घाटनपछि जलवायु परिवर्तनसँग सम्बन्धित विभिन्न विषयमा प्यानल छलफल हुने आयोजकले जनाएको छ । सम्मेलनमा विभिन्न स्थानीय तहमा जलवायु परिवर्तनले पारेका असर झल्काउने तस्बिर प्रदर्शनी तथा स्थानीयस्तरमा उत्पादित कृषि र पशुपालनसम्बन्धी सामग्रीको प्रदर्शनीसमेत गरिनेछ । घरपझोङ गाउँपालिकाले गत वर्ष नै सम्मेलन आयोजना गर्ने तयारी गरेको थियो । तर, जेनजी आन्दोलनका कारण यसअघि तय भएको कार्यक्रम स्थगित भएको थियो ।

