संखुवासभासहित केही स्थानमा भारीदेखि धेरै भारी वर्षा
काठमाडौं । संखुवासभासहित देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भारीदेखि धेरै भारी वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार संखुवासभा, भक्तपुर, मकवानपुर, उदयपुर तथा दैलेख–जाजरकोटको सीमा क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा मापन भएको छ ।
पछिल्लो २४ घण्टामा संखुवासभाको टाशी गाउँ स्नो स्टेसनमा १६६ दशमलव ४ मिलिमिटर र भक्तपुरको चाँगुनारायण स्टेसनमा १११ मिलिमिटर वर्षा मापन भएको छ । यी दुवै स्थानमा धेरै भारी वर्षा भएको महाशाखाले जनाएको छ । यस्तै, मकवानपुरमा ८४ दशमलव ४, उदयपुरमा ५९ तथा दैलेख–जाजरकोटको सीमा क्षेत्रमा पर्ने कट्टी स्टेसनमा ५६ मिलिमिटर वर्षा मापन भएको छ । यी स्थानमा भारी वर्षा भएको जनाइएको छ ।
मौसमविद्का अनुसार १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनुलाई धेरै भारी, २०० मिलिमिटरभन्दा बढीलाई अति भारी, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी तथा १० देखि ५० मिलिमिटरसम्म वर्षा हुनुलाई मध्यम वर्षा मानिन्छ । महाशाखाले आज पनि देशभर मौसम बदली रहने र केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।

