बाढीपहिरो र सडक मर्मतका कारण विभिन्न राजमार्गमा यातायात प्रभावित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक मर्मत र निर्माणका कारण प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बागमती, गण्डकी र कर्णाली प्रदेशका विभिन्न सडकखण्डमा यातायात पूर्ण तथा आंशिक रूपमा अवरुद्ध छ ।

बागमती प्रदेशमा काभ्रे, रसुवा, नुवाकोट, धादिङ र चितवनका सडकखण्ड प्रभावित भएका छन् । काभ्रेमा सम्भावित बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी सडकखण्डमा सम्पूर्ण सवारी साधनको आवागमन रोकिएको छ । अर्को सूचना नभएसम्म उक्त सडकखण्डमा यातायात सञ्चालन नहुने प्रहरीले जनाएको छ ।

रसुवामा बाढीका कारण मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ । नुवाकोटमा टोखा–छहरे सडकखण्डमा सम्भावित बाढी तथा पहिरोको जोखिम रहेकाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ । विदुर नगरपालिका–१० सिमटारस्थित पासाङ ल्हामु सडकखण्डमा पनि यातायात पूर्ण रूपमा अवरुद्ध छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ । सोही गाउँपालिकाको वडा नं. १० ज्वालामुखी तथा पृथ्वी राजमार्गको शीतलबजार क्षेत्रमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोलामा सडक मर्मतका कारण सवारी चाप हेरी एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, गण्डकी प्रदेशको मनाङमा नासों गाउँपालिका–३ धारापानीस्थित चामे–बेँसीसहर सडकखण्डमा साना सवारी साधन मात्र सञ्चालन भइरहेका छन् । कर्णाली प्रदेशको हुम्लामा सर्केगाड गाउँपालिका–६ स्थित कर्णाली करिडोर पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ ।

Facebook Comments Box