गणेश चतुर्थीमा गणेश मन्दिरमा भक्तजनको घुइँचो
काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशका प्रमुख गणेश मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । शास्त्रीय मान्यताअनुसार सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको हो । यस अवसरमा उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक र कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरी गणेशको जन्मोत्सव मनाइँदै छ ।
शिवपार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्ममा अग्रपूजाको अधिकार प्राप्त रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । उनका अनुसार हरितालिका तीजको व्रत तथा पारायणपछि चतुर्थीका दिन गणेशको व्रत तथा पूजा गर्ने शास्त्रीय विधान छ । भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन र सुखशान्तिको कामना गर्दै व्रत बसेका महिलाले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भन्ने कामनासहित गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख रहेको बताइएको छ ।
मङ्गल चतुर्थीसमेत भनिने आजको दिन नेवार समुदायले ‘चथा’ पर्वका रूपमा मनाउने गर्छ । यस अवसरमा बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने परम्परा छ । यस वर्ष गणेश चतुर्थी मंगलबार परेकोले यसको विशेष महत्व रहेको बताइएको छ । यसै अवसरमा राष्ट्रिय धर्मसभा नेपालले विसं २०६५ देखि विभिन्न कार्यक्रम आयोजना गरी गणेश चतुर्थी मनाउँदै आएको छ । आज विभिन्न गणेश मन्दिरमा पूजा आराधनासँगै प्रवचन कार्यक्रम आयोजना गरिएको धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराईले जानकारी दिए ।
धर्मसभाले आज विभिन्न गणेश मन्दिरमा पुगेर संस्थाका तर्फबाट पूजा आराधना गर्ने कार्यक्रमसमेत राखेको छ । राष्ट्रिय धर्मसभाले विसं २०६५ देखि गणेश रथयात्रा गर्दै आएको छ । सामान्यतया भाद्र शुक्ल पञ्चमीका दिन गरिने रथयात्रा यस वर्ष पञ्चमीसमेत आजै परेकाले आजै आयोजना गरिने धर्मसभाले जनाएको छ ।

