शाओमी नेपालद्वारा भोटेकोशी बाढीपीडितका लागि २० लाख सहयोग
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शाओमी नेपालले २० लाख रुपैयाँ सहयोग गरेको छ । शाओमी नेपालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो । बाढीपहिरोका कारण विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएकाले तत्काल राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
सहयोग रकम रमेशकर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवाल, भत्सल इम्पेक्सका निर्देशक नितेश कुमार मद्रा र शाओमी नेपालका बिक्री तथा वितरण प्रमुख दिनेश राईले अर्थमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो । कम्पनीले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको जनाएको छ ।
साथै, सरकारी राहत, उद्धार तथा पुनःस्थापनाका प्रयासमा आफ्नोतर्फबाट सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । “नेपालसँगै, नेपालका लागि” भन्ने भावनासहित सामाजिक उत्तरदायित्वका गतिविधिमा निरन्तर योगदान गर्दै आएको शाओमी नेपालले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने जनाएको छ ।

