बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
काठमाडौँ । बाढीपहिरोका कारण देशका विभिन्न प्रमुख राजमार्गमा यातायात प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार बागमती, कर्णालीलगायत प्रदेशका विभिन्न सडकखण्डमा पूर्ण तथा एकतर्फी अवरोध रहेको छ । रसुवाको उत्तरगया गाउँपालिका–४ स्थित त्रिशूली–मेलुङ–स्याफ्रुबेँसी सडक बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ ।
नुवाकोटमा बाढीपहिरोको जोखिमका कारण टोखा–छहरे सडक राति १० बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिएको छ । पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । सोही गाउँपालिकाको ज्वालाखोला र शीतलबजार क्षेत्रमा सडक एकतर्फी सञ्चालनमा रहेको छ । चितवनको ज्वालाखोला क्षेत्रमा पनि सडक मर्मतका कारण एकतर्फी यातायात सञ्चालन भइरहेको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित घट्टेखोलामा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ । यस्तै, कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा पहिरो गएपछि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । प्रहरीले प्रभावित सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन तथा सम्भावित जोखिमलाई ध्यानमा राखी आवश्यकताअनुसार वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

