धारापानीमा आज ८ घण्टा बेँसीसहर–चामे सडक बन्द हुने
लमजुङ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाले धारापानी क्षेत्रमा करिब ५० मिटर सडक ढलान गर्ने भएकाले सडक बन्द गर्न लागिएको हो ।
सडक साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारी सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने जनाइएको छ । त्यस अवधिमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन । साँझ ५ बजेदेखि भोलि बिहान १० बजेसम्म भने सडकमा भारी सवारीसाधन सञ्चालनमा रोक लगाइने प्रमुख जिल्ला अधिकारी खनालले जानकारी दिनुभयो । सडक बन्द हुने अवधिलाई ध्यानमा राखी यात्रुले आफ्नो यात्रा व्यवस्थापन गर्न प्रशासनले आग्रह गरेको छ ।

