माथिल्लो त्रिशूली–१ मा सात जनाको शव फेला

काठमाडौँ । बाढीले क्षतिग्रस्त २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा सात जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीपछि सुरुङ तथा हेडवक्स क्षेत्रमा हराइरहेकाको खोजी गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ ।

शुक्रबार नेपाली सेना र आयोजना प्रवर्द्धक नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको टोलीले अडिट–१ क्षेत्रको अवलोकन गर्दा उक्त क्षेत्र पूर्ण रूपमा गेग्रानले भरिएको पाइएको उद्धारमा संलग्नहरूले बताएका छन् । यस्तै, मैलुङ क्याम्प साइटमा मिनी स्काभेटरमार्फत उत्खनन सुरु गरिएको छ भने अडिट–३ क्षेत्रमा नेपाली सेना र अष्ट्रेलियाली उद्धार टोलीले खोजी गरेका छन् ।

आजदेखि खोजी कार्यलाई थप तीव्रता दिने आयोजनाले जनाएको छ । बाढी आउनुअघि आयोजनास्थलमा एक हजार ४३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८७८ जनाको उद्धार भएको जनाइएको छ ।

Facebook Comments Box