परेवाटार–मास्टार सडकमा आजदेखि एकतर्फी यातायात

धादिङ । भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको परेवाटार–मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी सवारी सञ्चालन गरिने भएको छ । सडक साँघुरो भएकाले दुवैतर्फबाट एकैपटक सवारी सञ्चालन गर्दा समस्या भएपछि जिल्ला प्रशासन कार्यालय धादिङले एकतर्फी यातायातको समयतालिका निर्धारण गरेको हो ।

प्रशासनका अनुसार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म गल्छी–मास्टारबाट परेवाटार हुँदै धादिङबेंसीतर्फ सवारी सञ्चालन हुनेछन् । धादिङबेंसीतर्फ आउने सवारीले दिउँसो १२ बजेसम्म मास्टारको पुल पार गरिसक्नुपर्नेछ । त्यसैगरी, दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म धादिङबेंसीबाट परेवाटार हुँदै मास्टार–गल्छीतर्फ सवारी सञ्चालन हुनेछन् ।

गल्छीतर्फ जाने सवारीले साँझ ७ बजेसम्म परेवाटार पार गरिसक्नुपर्ने प्रशासनले जनाएको छ । तोकिएको समयमा धादिङबेंसीबाट सुनौलाबजार, फोस्रेटार र केउरिनी हुँदै गल्छीतर्फ पनि आवतजावत गर्न सकिने व्यवस्था गरिएको छ ।

Facebook Comments Box