आज पनि देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौँ, १८ भदौ – आज पनि देशभर विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार अहिले प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थान र मधेश र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का केही स्थान र बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेकाे छ।

Facebook Comments Box