सेतीबाढीपीडित सार्दिखोलावासीले भोटेकोशी बाढीपीडितलाई सहयोग
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलाका बासिन्दाले रसुवाका भोटेकोशी बाढीपीडितका लागि सात लाख ९३ हजार ७७५ रुपैयाँ सहयोग गरेका छन् । वडा कार्यालयको पहलमा सञ्चालन गरिएको राहत सङ्कलन अभियानबाट जुटेको उक्त रकम बुधबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
सार्दिखोलावासीले १४ वर्षअघि सेती नदीमा आएको विनाशकारी बाढीको पीडा आफैँ भोगेका थिए । विसं २०६९ वैशाख २३ गते अन्नपूर्ण चौथो हिमालबाट खसेको हिमपहिरोका कारण सेती नदीमा आएको अप्रत्याशित बाढीले खारपानी बजार बगाउँदा स्थानीयवासी तथा पर्यटक गरी ७० जनाभन्दा बढीको ज्यान गएको थियो ।
बाढीले खारपानी बजारका घर तथा अन्य भौतिक संरचनासहित झोलुङ्गे पुल र प्रसिद्ध तातोपानी कुण्डसमेत बगाएको थियो । त्यसबेलाको विपद्को पीडा सम्झिँदै सार्दिखोलावासीले भोटेकोशी बाढीपीडितलाई सहयोग गरेका हुन् । राहत सङ्कलन अभियानमा १७ वटा टोल विकास समिति, आमा समूह, चेलीबेटी समूह, विभिन्न सङ्घसंस्था तथा स्थानीय नागरिक सहभागी भएको वडाध्यक्ष गणेश आचार्यले बताउनुभयो ।
सङ्कलित रकम पारदर्शी रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न सार्दिखोला बचत तथा ऋण सहकारी संस्थालाई हस्तान्तरण गरिएको थियो । सहकारी संस्थाले उक्त रकम कोषमा जम्मा गरिसकेको जनाएको छ । सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत गोविन्द आचार्यले भौगोलिक दूरी टाढा भए पनि विपद्को पीडा समान हुने बताउँदै यो सहयोगले विपद्का बेला समुदाय एकअर्काको साथमा उभिनुपर्ने सन्देश दिएको बताउनुभयो ।

