भोटेकोशी बाढीपछि डिएनए परीक्षण तीव्र

रूपन्देही । भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी नागरिकका शव पहिचानका लागि नेपाल प्रहरीले डिएनए नमुना सङ्कलन तथा परीक्षणलाई तीव्रता दिएको छ । नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला सामाखुशीले बाढी प्रभावित क्षेत्र तथा मृतकका आफन्तबाट सङ्कलन गरिएका नमुनाको वैज्ञानिक विधिबाट परीक्षण गरिरहेको जनाएको छ ।

प्रहरीका अनुसार हालसम्म मृतकका आफन्त तथा अन्य स्रोतबाट प्राप्त ८०८ वटा रगतका नमुना, मृतकका दाँत तथा हड्डीबाट सङ्कलित ३४८ नमुना र ८४ वटा औँलाछापसम्बन्धी नमुना गरी एक हजार २४० नमुना फोरेन्सिक परीक्षणका लागि प्रयोगशालामा प्राप्त भएका छन् ।शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ४१२ गरी कुल दुई हजार ६७८ डिएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ ।

मृतक तथा सम्भावित आफन्तका नमुनाबीच वैज्ञानिक तुलना गरी शव तथा शरीरका अङ्गको पहिचान पुष्टि गर्ने प्रक्रिया अघि बढाइएको छ । नेपाल प्रहरी अस्पतालमा मात्रै हालसम्म ९९० मृतकका आफन्तको नमुना सङ्कलन गरिएको छ भने अन्य जिल्लामा पनि नमुना सङ्कलनलाई तीव्रता दिइएको छ ।

प्रहरीका अनुसार भोटेकोशी बाढीपछि सम्पर्कविहीन तथा हराइरहेका नेपाली र विदेशी नागरिकको पहिचानका लागि पनि डिएनए प्रोफाइलिङलाई विस्तार गरिएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शव पहिचान तथा डिएनए परीक्षणका सबै प्रक्रिया वैज्ञानिक विधि र मापदण्डअनुसार अघि बढाउन निर्देशन दिनुभएको छ ।

Facebook Comments Box