भोटेकोशी बाढीमा एक हजार ३७२ शव फेला
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ८ बजेसम्म एक हजार ३७२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १७८, नुवाकोटमा १९७, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२७ र नवलपरासी पश्चिममा २२२ शव छन् ।
शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ६१६ गरी दुई हजार ९०२ वटा डिएनए नमुना सङ्कलन गरिएको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रिया पूरा गरी हालसम्म एक हजार १४८ शव व्यवस्थापन गरिएको छ । पहिचान हुन नसकेका एक हजार २९५ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि हालसम्म सात हजार ९७५ प्रहरी परिचालन गरिएको छ । बाढीपछि बेपत्ता भएका चार हजार ७७ जनाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । यसैगरी, विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा दुई हजार ९८९ जनालाई राखिएको प्रहरीले जनाएको छ ।

