मनसुनी जोखिम उच्च, कृषिक्षेत्रमा समन्वय अभावले चुनौती बढ्दै

काठमाडौं, १४ असार  – यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपत्को उच्च जोखिममा रहेको देखिएको छ। मनसुन सक्रिय भए पनि वर्षा असमान रूपमा भइरहेकोले अतिवृष्टि र अनावृष्टि दुवैको जोखिम कायम रहेको सरोकारवालाहरूले बताएका छन्। देशको करिब ६० प्रतिशत जनसङ्ख्या कृषि क्षेत्रमा निर्भर छ।

कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादन (GDP) मा करिब २४ प्रतिशत योगदान दिँदै आएको छ। यस्तो महत्वपूर्ण क्षेत्रमै मौसमजन्य जोखिम बढ्दा खाद्य सुरक्षा र समग्र कृषि प्रणाली प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ। तर कृषि क्षेत्रमा मनसुनजन्य विपत् व्यवस्थापनका लागि स्पष्ट र प्रभावकारी प्रतिकार्य प्रणाली कमजोर देखिएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक वर्ष मनसुन प्रतिकार्य योजना बनाउने गरे पनि कृषि क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिएको आरोप छ। त्यसैगरी, कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सूचना प्रशिक्षण सञ्चार केन्द्रले मौसमी सूचना प्रसारण गरे पनि प्रायः जल तथा मौसम विज्ञान विभागको सूचनालाई जस्ताको तस्तै मोबाइल म्यासेजमार्फत पठाउने कार्यमा सीमित रहेको बताइएको छ।

कृषि विभागले पनि विशेष गरी बाली उत्पादन र अनुदान व्यवस्थापनमा केन्द्रित भए पनि मौसमजन्य विपत् व्यवस्थापनका लागि ठोस प्रतिकार्य योजना नबनाएको देखिन्छ। विभागका अनुसार प्रदेश र स्थानीय तहमार्फत सूचना संकलन गर्ने व्यवस्था भए पनि प्रभावकारी समन्वयको अभाव छ।

कृषि अनुसन्धान परिषद् अन्तर्गतको कृषि मौसम पूर्वानुमान महाशाखाले साप्ताहिक कृषि मौसम बुलेटिन जारी गर्दै आए पनि त्यसलाई किसानसम्म प्रभावकारी रूपमा पुर्‍याउन समस्या रहेको छ। पर्याप्त जनशक्ति, बजेट र संरचनागत कमजोरीका कारण प्रभावकारी सेवा दिन कठिन भइरहेको महाशाखाले जनाएको छ।

कृषि मौसमविद्हरूका अनुसार मनसुन कमजोर वा असमान हुँदा किसानलाई समयमै स्पष्ट मार्गदर्शन दिनुपर्ने भए पनि नीतिगत तहमा त्यसअनुसारको एकीकृत प्रणाली विकास हुन सकेको छैन। संघीय संरचनापछि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय कमजोर हुँदा पूर्वसूचना प्रणाली प्रभावकारी बन्न नसकेको र किसानसम्म जानकारी पुग्न कठिन भइरहेको सरोकारवालाहरूको निष्कर्ष छ।

Facebook Comments Box